काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले यस अवधिमा एक अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशतले कम हो।
अघिल्लो वर्ष यही अवधिसम्म बैंकले दुई अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा ब्याज आम्दानी घट्नु, इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढ्नु र निष्क्रिय कर्जा (एनपीएल) उकालो लाग्नुका कारण बैंकको नाफामा दबाब परेको देखिन्छ।
यद्यपि, बैंकको खुद फि तथा कमिशन आम्दानी भने ८.६६ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४०.५९ प्रतिशतले खुम्चिएको छ। गत वर्ष एक अर्ब ७७ करोड ७५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा बढेर तीन अर्ब नौ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी पनि २१.२२ रुपैयाँ ऋणात्मक देखिएको छ। साथै, बैंकको कर्जा गुणस्तरमा पनि दबाब देखिएको छ। गत वर्ष ५.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७.९० प्रतिशत पुगेको छ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि कमजोर बनेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ७.१५ रुपैयाँले घटेर ९.४५ रुपैयाँमा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १९४.७७ रुपैयाँ कायम रहेको छ भने मूल्य आम्दानी (P/E) अनुपात २०.२० गुणा रहेको छ।
पुँजी संरचनातर्फ, पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ। समग्रमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अर्धवार्षिक वित्तीय विवरणले फि तथा कमिशन आम्दानीमा सुधार देखिए पनि ब्याज आम्दानी, बढ्दो इम्पेरमेन्ट चार्ज र खराब कर्जाका कारण नाफामा दबाब कायम रहेको छ।

































