काठमाडौँ। कर्मचारी सञ्चय कोषबाट पाइने विभिन्न कर्जाहरू मध्यमा घर कर्जाका लागि एक करोड रुपैयाँसम्म पाउन सकिने व्यवस्था रहेको छ ।
कोषले घर सापटी , शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिदका लागि सञ्चयकर्तालाई सापटी दिने लगायतका विभिन्न प्रकारका सापटीको व्यवस्था गरेको जनाएको छ । कम्तीमा २ वर्ष कोषकट्टी रकम कोषमा जम्मा गरेका नियमित सञ्चयकर्ताले घर बनाउनका लागि यो सापटी रकम लिन योग्य हुने कोषले जनाएको छ ।
कोषले तोकेको क्षेत्रमा नयाँ घर निर्माण गर्न, तला थप गर्न र घर खरिद गर्न समेत पाइने छ।
आधुनिकीकरणलाई मध्यनजर गर्दै कर्मचारी सञ्चय कोषले अनलाइन विशेष सापटी समेत ल्याएको छ । अनलाइन विशेष सापटी प्राप्त गर्नका लागि सञ्चयकर्ता कार्यालयको KYC तथा सञ्चयकर्ता व्यक्तिगत KYC विवरण अनिवार्य रूपमा अद्यावधिक रहेको हुनुपर्ने जनाएको छ। त्यसका लागि कोषको वेबसाइट मा गएरLogin गरी Individual login बाट आवेदन दिन सकिने छ । आवेदन दिँदा सञ्चयकर्ता संयमले तोकिए बमोजिमको सापटी आवेदन फाराम भरी सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराई UPLOAD गर्नुपर्ने हुन्छ । सम्बन्धित सञ्चयकर्ता कार्यालयले OFFICE LOGIN गरी सञ्चयकर्ताको विशेष सापटी आवेदन ACCEPT गर्नुपर्ने व्यवस्था कायम गरिएको छ ।
साथै, कोषले विशेष सापटी दिने व्यवस्था गरेको छ । विशेष सापटीका लागि सञ्चय कोष रकमको सुरक्षणमा १० प्रतिशतसम्म रकम सापटीको रूपमा उपयोग गर्न सकिने छ । २ वर्ष नियमित कोषकट्टी गरेका सञ्चयकर्ता यो सापटीका लागि योग्य हुनेछन् । चुक्ता भए पछि वा पछिल्लो सापटी लिएको मितिले एक वर्ष पूरा भए पश्चात् पुनः सापटी लिन सकिने व्यवस्था छ ।
घर कर्जा बाहेक अन्य कर्जा के कति र कसरी पाइन्छ ?
शैक्षिक सापटी
कम्तीमा २ वर्ष कोषकट्टी रकम कोषमा जम्मा गरेका नियमित सञ्चयकर्ता यो सापटीका लागि योग्य हुनेछन् । सञ्चयकर्ता वा निजको पति, पत्नी, छोरा वा छोरीलाई उच्च शिक्षा अध्ययनका लागि यो सापटी कोषले प्रदान गर्छ ।
धितो मूल्याङ्कनमा नबढ्ने गरी अधिकतम ४० लाख प्राप्त गर्न सकिने वा अवकाश हुन १० वर्षसम्म सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १० वर्षको तलब बराबरको रकम र १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमान बराबरको रकम प्रवाह गर्ने व्यवस्था कोषले गरेको छ । कम्तीमा २ वर्ष सेवा अवधि बाँकी भएको हुनुपर्ने हुन्छ बाँकी सेवा अवधि बराबर कर्जा अवधि हुने छ ।
घर मर्मत सापटी
कम्तीमा २ वर्ष कोषकट्टी रकम कोषमा जम्मा गरेका नियमित सञ्चयकर्ता यो सापटीका लागि योग्य हुने व्यवस्था कोषले गरेको छ । कोषले तोकेको क्षेत्रमा घर मर्मत गर्न यो सापटी उपभोग गर्न पाइनेछ । धितो मूल्याङ्कनमा नबढ्ने गरी अधिकतम ३० लाखसम्म प्राप्त गर्न सकिने वा अवकाश हुन १० वर्षसम्म सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १० वर्षको तलबमान बराबरको रकम र १० वर्ष भन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमान बराबरको रकम प्रवाह कोषले गर्नेछ ।कम्तीमा २ वर्ष सेवा अवधि बाँकी भएको हुनुपर्ने हुन्छ । बाँकी सेवा अवधि बराबर कर्जा अवधि हुनेछ ।
सरल सापटी
कम्तीमा २ वर्ष कोषकट्टी रकम कोषमा जम्मा गरेका नियमित सञ्चयकर्ता यो सापटीका लागि योग्य हुनेछन् । प्रयोजन खुलाई सापटी उपभोग गर्न पाइनेछ ।
धितो मूल्याङ्कनमा नबढ्ने गरी अधिकतम ४० लाखसम्म प्राप्त गर्न सकिने वा अवकाश हुन १० वर्षसम्म सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १० वर्षको तलबमान बराबरको रकम र १० वर्ष भन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमान बराबरको रकम प्रवाह गर्ने व्यवस्था कोषले गरेको छ । कम्तीमा २ वर्ष सेवा अवधि बाँकी भएको हुनुपर्ने हुन्छ । बाँकी सेवा अवधि बराबर कर्जा अवधि हुन्छ ।
यसरी जुन सुकै सापटी लिएका सञ्चयकर्ताले अनलाइन मार्फत पनि सापटी फिर्ता गर्न सक्छन् । KYC Update गरेका सञ्चयकर्ताले उपभोग गरेको सापटीको साँवा तथा ब्याज NCHL Connect ips मार्फत आफ्नो बैंक खाताबाट सोझै कोषमा तिर्न सक्ने सक्नेछन् । यस प्रणालीबाट साँवा ब्याज रकम कोषमा फिर्ता दाखिला गर्दा तत्कालै सम्बन्धित सञ्चयकर्ताको ऋण खातामा लेखाङ्कन भई सापटी रकम घट्नेछ । यस प्रणालीबाट हाल प्रति कारोबार ५ हजार रुपैयाँदेखि अधिकतम NCHL ले उपलब्ध गराउने सीमासम्म सापटी तिर्न सकिनेछ । सापटी चुक्ता गर्ने प्रयोजनको लागि भने रु। ५ हजारभन्दा कम रकमसमेत तिर्न सकिने व्यवस्था छ ।


































