काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फका २ लाख कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।
बैंकका अनुसार उक्त शेयर खरिद गर्न चाहने योग्य लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्ने प्रक्रिया आज चैत २६ गतेबाट सुरु भई २०८३ वैशाख ३ गते कार्यालय समयभित्र समाप्त हुनेछ। प्रति कित्ता न्यूनतम मूल्य १७५ रुपैयाँ निर्धारण गरिएको छ।
आवेदन फाराम एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ। साथै बैंकको कर्पोरेट कार्यालय तथा देशभर रहेका प्रमुख शाखाहरूबाट पनि फाराम लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ।
बोलपत्र संकलनका लागि काठमाडौं (थापाथली) सहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखाहरू तोकिएका छन्। यस शेयर बिक्री प्रक्रियाको व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

































