काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखिएको छ। यस अवधिमा संस्थाले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५ करोड २९ लाख रुपैयाँ घाटामा थियो ।
समिक्षा अवधिमा संस्थाले ४३ करोड ५५ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५१.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २६ करोड ९१ लाख रुपैयाँ रहेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी ४६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ५ करोड ३२ लाख रुपैयाँले ऋणात्मक थियो ।
अघिल्लो आवमा ६ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ २० लाख २५ हजार रुपैयाँले धनात्मक बनेको छ । रिजर्भको आकार पनि २० करोड २९ लाखबाट बढेर २१ करोड ८० लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियममा ७ करोड २९ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात पनि सुधारिएर ६.३५ प्रतिशतबाट घटेर ४.४३ प्रतिशतसिमित भएको छ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।
७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

































