काठमाडौँ । देशभर करिब ४५ प्रतिशत भन्दा धेरै मान्छेले खाना पकाउन एलपी ग्यासको प्रयोग गर्ने गरेको नेपाल आयल निगमका भनाई छ । यो क्रम वर्षेनी १५ देखि १७ प्रतिशतले वृद्धि हुँदै गएको निगमको तथ्यांकमा उल्लेख छ ।
खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै यसको सुरक्षामा चुनौती थपिँदै गएको छ । २०७९ सालमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी घाइते भएको र उनकी आमाको मृत्यु भएको घटना ताजा छ ।
ग्यासको उचित प्रयोग गर्न नजान्दा वा त्यसलाई सामान्य सम्झिदा यस्ता घटनाहरू दैनिक रूपमा घट्ने गरेका छन् ।
किन पड्किन्छन् ग्यास ?
एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमुख कारण रहेको सम्बन्धित विशेषज्ञहरूको भनाई छ । ‘सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाहीँ पडकिने उनीहरूको धारणा छ ।
यसबाहेक कमसल तथा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि ग्यास पड्किने सम्भावना बढेको हो । त्यस्तै लामो समयसम्म सिलिण्डर बिना प्रयोग राखीराख्ने जस्ता कार्यले समेत सुरक्षाको जोखिम निम्ताउन सक्ने विशेषज्ञहरूको भनाई छ ।
खाना पकाउने ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
सिलिण्डर ल्याउँदा सकेसम्म नगुडाएर ल्याउन विज्ञहरूको सुझाव छ। साथै सकभर सुतीको कपडा लगाएर मात्र खाना पकाउन राम्रो हुने उनीहरूको धारणा छ । भार पर्ने गरी सिलिण्डरमाथि कुनै सामान राख्दा भार थपिने र यसले जोखिम बढाउने भएको कारण त्यस्तो नगर्न विज्ञहरूको सुझाव छ ।
एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्न र भइहालेको खण्डमा पनि एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास आउने दूरी टाढा हुनुपर्ने उनीहरूको धारणा छ । सकेसम्म सिलिण्डरलाई साइडमा आधार दिने गर्नाले समेत यसको सुरक्षामा सहयोग पुग्दछ ।
सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्ने र कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्न नहुने उनीहरूको धारणा छ । त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुन नहुने विज्ञको धारणा छ ।
सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस्। त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्टाछुट्टै परीक्षण गर्नुहोस्। यदि सिलिन्डर बाटै लिक भएको भए चुल्हो, लाइटर, धूप तथा कोठाको बिजुली बत्ती निभाउनुहोस् तथा सबै झ्याल ढोका खोली ग्यासको मात्रा घटाउने तर्फ लाग्नुहोस्। एक विशेषज्ञले जानकारी दिँदै भने
साथै, धेरै पुरानो पाइप प्रयोग नगर्न, रेगुलेटरबाट ग्यास लिक भएमा सिलिण्डरको भल्वमा सेटी क्याम्प लगाएर घर बाहिर खुल्ला ठाउँमा राख्न र नजिकको ग्यास विक्रेता वा सम्बन्धित ग्यास उद्योगलाई खबर गर्न उनले सुझाव दिएका छन् ।
सिलिण्डरको म्याद थाहा पाउने उपाय
आफ्नो भान्सामा प्रयोग भएको सिलिण्डरको म्याद सहजै हेर्न र पत्ता लगाउन सकिन्छ। सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्र पट्टी सिलिण्डरको म्यादलाई जनाउने गरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सकिन्छ ।
यस्ता ग्यासको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि २०,२१, २२, आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन्।
ए, बी, सी र डी ले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने बी ले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ।
त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २०’ लेखिएको सिलिण्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसाबले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ।
एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्यास उद्योगहरूले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्बन नगरेको समेत पाइने गरेको छ।
































