काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विभिन्न ८ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाएको छ । महानगरका अनुसार छठ पर्व व्यवस्थापनका लागि महानगरले ८ स्थान निर्धारण गरेको हो ।
महानगरले गौरी घाटको वडा नं ८, कोटेश्वर दोभानस्थित वडा नं ३२, कमलपोखरीको वडा नं १ वंशी घाटको ११ नं वडा र बालाजु बाइसधाराको वडा नं १६ सहित धौखेल खोला, कुमारी क्लब तथा भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाउन स्थल व्यवस्थापन गरिएको महानगरले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको जनाउँदै छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रुत गतिमा गरिरहेको उनले बताएका छन् ।


































