काठमाडौँ । स्थानीयको चर्को विरोधपछि काठमाडौँ महानगरपालिले थालेको न्यूरोड फुटपाथ विस्तारको काम अलपत्र परेका छ ।
व्यापारी र स्थानीय बासिन्दाको विरोध चर्किएपछि तत्कालका लागि महानगर पछि हटेको हो । महानगरले फुटपाथ विस्तार गर्न ल्याएको डोजर समेत त्यहाँबाट हटाएको छ । यो सँगै फुटपाथ विस्तारको काम अलपत्र परेको छ ।
गत बुधवारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडका स्थानीयको विरोध पछि काम अवरुद्ध भएको हो । तीन दिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर न्यूरोडबाट हटाइएको छ । न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर अहिले अलपत्र अवस्थामा छोडिएको छ ।
शुक्रवारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोधमा उत्रिएका थिए । उनीहरूले रातभर टेन्ट टाँगेर त्यही बसेर समेत महानगर विरुद्ध नाराबाजी गरेका थिए । महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरे पनि सफल हुन नसकेपछि डोजर फिर्ता बोलाएको हो ।
२२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजन पनि फुटपाथ विस्तारको विरोधमा उत्रिएका छन् । यसअघि पनि अवरोध हुँदा महानगरले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि महानगर पुनः फुटपाथ विस्तारमा अघि बढेको थियो ।


































