काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विकासे कामलाई तीव्रता दिइरहेको जानकारी दिएका छन् । उनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो सरकारले विकासको गतिलाई तीव्रता दिएकोमा जोड दिएका हुन्।
आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले विकासको कामले गति लिएको आँकडा प्रस्तुत गरेका छन्। राष्ट्रपति पौडेलले सुनकोसी मरिन डाइभर्सनको सुरुङ निर्धारित समयभन्दा अगावै सकिएको बताए ।
यस्तै जलविद्युत उत्पादनको जडित क्षमता २ हजार ९४० मेगावाट पुगेको, कूल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए । यसैगरी विभिन्न कारणले लामो समयदेखि रोकिएको प्रसारणलाईन र सबस्टेसनको निर्माणको काम समेत चालू वर्षमा अघि बढेको उनले बताए । यसबाट उत्पादित बिजुलीको प्रसारणमा सहजता आएको बताइएको छ ।
यता नेपालमा उत्पादित बिजुली भारत र बंगलादेशमा निर्यातको प्रक्रिया सुरु भइसकेको समेत राष्ट्रपति पौडेलको भनाई छ । पूर्वाधार विकासका आयोजना कार्यान्वयनलाई तीव्रता दिएको बताउँदै उनले भने, ‘पूर्व पश्चिम राजमार्गमा देखिएका समस्या समाधान गर्दै अघि बढाइएको छ ।’
नागढुंगा नौबिसे सुरुङमार्ग छिचोलिनुका साथै निर्माणाधीन स्थानीय अस्पतालको निर्माणकार्यलाई अघि बढाइएको समेत उनले बताए ।






































