काठमाडौँ । यस अगाडि सार्वजनिक रूपमा विरोध भएसँगै निर्णय लिनबाट पछि हटेको सरकारले अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने निर्णय फेरि अगाडि ल्याएको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी थालेको मा जुटेको हो। २०४९ सालमा बनेको ऐनअनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी भएको हो।
सोही अनुसार १८ वर्ष पुगेकालाई मात्र सवारी लाइसेन्स उपलब्ध गराउने भएको छ ।
नयाँ सवारी तथा यातायात ऐनमा सडक सुरक्षादेखि जरिवानासम्ममा कडाइ गर्न लागिएको छ। मोटरसाइकल वा स्कुटरमा चालक र पछाडि बस्ने यात्रुले समेत अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था प्रस्तावित ऐनमा गरिएको छ।
व्यावसायिक सवारी चालक अनुमति पत्र प्राप्त गर्न कम्तीमा कक्षा ८ पास भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ । यो प्रावधानलाई संशोधन गरी २३ वर्ष उमेर पूरा हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।
यसैगरी मझौला तथा सानो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष हुनुपर्ने उमेर हद तोकिएको छ । जबकि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा १८ वर्ष उमेर पुगेका नागरिकले मझौला तथा साना सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ ।
साथै, मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न पहिला १६ पुगेको हुनुपर्ने थियो भने अहिले १८ वर्ष उमेरहद कायम गर्न खोजिएको छ।
































