काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा गोली लागी वा हुलमुलमा ज्यान गुमाएका मृतकको पोष्टमर्टम त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा सुरू भएको छ।
शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौँबाट आधिकारिक पत्र लिएर अस्पताल आएपछि पोष्टमर्टम प्रक्रिया अगाडि बढाइएको हो। आज मात्रै ९ जनाको परिवार पत्रसहित अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ।
फरेन्सिक मेडिसिन विभागका एक चिकित्सकले बताएअनुसार हालसम्म ३६ जनाको शव शिक्षण अस्पतालमा आइपुगेको छ।
मंगलबारदेखि नै शव आइपुग्न थाले पनि प्रहरीसँग आवश्यक समन्वय नभएकाले पोष्टमर्टम स्थगित गरिएको थियो।
प्रहरीको पत्र प्राप्त भएसँगै सुरक्षित राखिएका शवहरूको पोष्टमर्टम सुरु भएको फरेन्सिक मेडिसिन विभागले जनाएको छ।


































