काठमाडौँ । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । संसद् नियमावली अनुसार नचलेको भन्दै प्रतिपक्षी दलले विरोध गरेका हुन्।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति जनाएका थिए । आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
कुन पद्धतिअनुसार खतिवडालाई बोल्न दिएको भन्दै पराजुलीले प्रश्न गरे । कारण खुलाउन नसके उनको भनाई रेकर्डबाट हटाउन माग गरेका छन्।
उपसभामुख इन्दिरा रानाले भने आकस्मिक समयमा खतिवडालाई बोल्न दिन बिर्सेकाले अहिले बोल्न दिएको बताइन् । उनले यसबारे अध्ययन गरेर निर्णय गर्न संसद् सचिवालयलाई निर्देशन पनि दिइन् ।
त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरिएको जानकारी गराए ।
































