काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणका काममा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले सार्वजनिक आयोजना सुचारु रूपमा अघि बढाउन तत्काल पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो।
शुक्रबार ऊर्जा तथा पूर्वाधारमन्त्रीसहित सरोकारवालासँग भएको छलफलपछि समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधारमा देखिएका समस्या पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिए।
समितिका अनुसार इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्यवृद्धि र आपूर्ति समस्याले आयोजनाहरू प्रभावित भएका छन्।
सभापति गजुरेलले हालको परिस्थितिले राष्ट्रिय अर्थतन्त्रमा समेत असर पार्न सक्ने भएकाले समस्या समाधानलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको बताए। समितिले कानुनी जटिलताका कारण निर्माण कार्य प्रभावित भएको भन्दै सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउन संशोधन आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ।
बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूल्यवृद्धिको समस्या नेपालकै सबैभन्दा ठूलो चुनौतीमध्ये एक भएको बताएका थिए। उनका अनुसार निर्माण क्षेत्रमा देखिएको लागत वृद्धि र बजेट घाटाले आयोजना कार्यान्वयनमा गम्भीर असर पारेको छ।


































