काठमाडौँ । काठमाडौँको रिंग रोड (रारा३९ - राष्ट्रिय राजमार्ग नं ३९) अन्तर्गत ललितपुरमा पर्ने ग्वार्काे चोकमा निर्माण थालिएको भइरहेको ओभरपासको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हाल सडक पिच गर्ने काम मात्र बाँकी छ जुन यही जेठ महिनाभित्र सकिने बताइएको छ । त्यसपछि ओभरपासमा सवारीसाधन गुड्न पाउनेछन् । आशिष समानान्तर रेलिगर जेभीले निर्माण गरिरहेको ओभरपासको निर्माण २०७९ मंसिर १६ गतेदेखि सुरु गरिएको थियो ।
ओभरपास सञ्चालनमा आउनै लाग्दा सरकार यसको प्रचारप्रसार गर्नमा यसको नामलाई लिएर भने चर्चा चुलिँदो छ । आइतबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ओभरपासको स्थलगत निरीक्षण गरेका थिए ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार फ्लाईओभर र ओभरपास फरक संरचना हुन् । फ्लाईओभर पिल्लरहरूमाथि निर्माण गरिएको हुन्छ । जबकि ग्वार्काेमा बनाइएको संरचनामा जमिनको सतहबाट र्याम्प उठाएर सवारीसाधन पास हुने ठाउँमा मात्र पुल जस्तो आकार दिइएको छ । उक्त संरचना फ्लाईओभर नभई ओभरपास भएको उनको ठम्याइ छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माद्वारा संसदमा पेश गरिएको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ग्वार्काेमा बनाइने संरचनालाई फ्लाईओभर भनिएको छ । वक्तव्यको बुँदा नं २२९ मा भनिएको छ, “काठमाडौँ उपत्यकाको ग्वार्काे, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र कोटेश्वर तथा नयाँ बानेश्वरमा अण्डरपासको निर्माण सुरु गरिनेछ ।”

यता २०८१ वैशाख २१ गते नेपाल इन्जिनियर्स एशोसिएनले आयोजना गरेको टक शो मा ग्वार्काेमा बनिएको संरचनालाई ओभरपास भनिएको छ । उक्त टक शो मा सडक विभागका इन्जिनियर राकेश महर्जनले प्रस्तुतीकरण राखेका थिए ।

बजेट र अन्य सरकारी दस्तावेजमा फ्लाईओभर भनेर उल्लेख गरिएको संरचना यथार्थमा भने अर्कै छ । यसले विकसित राष्ट्रहरूको देखासिखी गर्ने तथा प्राविधिक शब्दलाई कपी पेष्ट गरेर प्रयोग गर्ने सरकारी प्रवृत्ति देखाएको छ । यसले जनतालाई भ्रमित बनाउने मात्र काम गरेको छैन बरु शहरी विकास योजना र विकास सञ्चारको मामिलामा राज्य हचुवाका भरमा प्रस्तुत हुन्छ भन्ने देखाएको छ ।


































