काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नयाँ सरकार गठनको तयारीसँगै मन्त्रिमण्डलका लागि नाम छनोट गर्ने काम भइरहेको संकेत मिलेको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले सम्भावित मन्त्रीहरूको सूची तयार पार्न थालेको बताइएको छ।
पार्टीभित्रको समझदारीअनुसार सभापति रवि लामिछानेले मन्त्रिमण्डल गठनमा सीमित भूमिका राख्ने सहमति भएपछि मन्त्री चयनको जिम्मेवारी बालेनतर्फ केन्द्रित भएको स्रोतको दाबी छ। सोहीअनुसार विभिन्न मन्त्रालयका लागि नामहरू टुंग्याउने काम अघि बढाइएको बताइएको छ।
अर्थ मन्त्रालयका लागि तनहुँ–२ बाट निर्वाचित स्वर्णिम वाग्लेको नाम लगभग निश्चित भएको जनाइएको छ। वाग्लेलाई यसअघि नै आर्थिक नीति र बजेटसँग सम्बन्धित जिम्मेवारी दिने तयारी गरिएको थियो। रास्वपा सभापति लामिछानेले यसअघि एक कार्यक्रममा वाग्लेलाई 'तपाई बजेट लेख्न थाल्नुस्' भन्ने अभिव्यक्ती दिएकाले पनि उनी अर्थमन्त्री बन्ने भित्री तयारी रहेको स्रोतको दाबी छ ।
मन्त्रालय घटाउने योजना
हालको योजना अनुसार, मन्त्रिपरिषद् १८ भन्दा पनि तल घटाइने तयारी छ। सम्भवतः १३ देखि १५ सदस्यीय मन्त्रिपरिषद् हुने देखिन्छ। कम भए पनि प्रभावशाली र सशक्त टोली तयार गर्ने अपेक्षा गरिएको छ।
https://aarthikvoice.com/archives/85427
उद्योग, वाणिज्य, खानेपानी मन्त्रालय नै नरहने वा उपलब्ध मन्त्रालयको संरचनामा समेट्ने सम्भावना छ भने सहरी विकास लगायतका अन्य मन्त्रालयहरूलाई पनि एकीकृत गर्ने योजना बनाइएको छ। रक्षा मन्त्रालय बालेन आफैले लिने सम्भावना छ।
अन्य मन्त्रालयलाई पनि एकआपसमा गाभेर कम भन्दा कम मन्त्रालय बनाउने तयारी छ।
कसलाई कुन मन्त्रालय ?
स्रोतका अनुसार डीपी अर्याल गृह मन्त्री बन्नेछन् भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनालले पाउने लगभग पक्कापक्की भएको छ।
यस्तै, काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय दिने चर्चा छ। यद्यपि उक्त मन्त्रालयमा अन्य दाबेदारबीच प्रतिस्पर्धा भइरहेको पनि स्रोतको भनाइ छ।
https://aarthikvoice.com/archives/85145
गुल्मी–१ बाट निर्वाचित सागर ढकाल, गोरखा–१ का सुदन गुरुङ तथा दलित आन्दोलनसँग जोडिएका खगेन्द्र सुनार पनि मन्त्री बन्ने सम्भावित सूचीमा रहेको जनाइएको छ।
रविको सिफारिसमा सोबिता गौतम, तोसीमा कार्की पनि मन्त्री बन्ने सूचीमा रहेका बुझिएको छ। रास्वपाकी कोषाध्यक्ष लीमा अधिकारीको सबैलाई समन्वय गरेर लान सक्ने क्षमता भएकाले उनको पनि मन्त्री बन्ने सम्भावना प्रबल मानिएको छ। प्रतिमा रावल र दिपक बोहरा पनि मन्त्री बन्ने सूचीमा रहेको बताइएको छ।
https://youtu.be/OeXaT_jeh6w
यसैबीच, पूर्व मन्त्री बब्लु गुप्तालाई पुनः युवा तथा खेलकुद मन्त्रालयमा दोहोरिने सम्भावना रहेको बताइएको छ। सर्लाही–४ बाट निर्वाचित अमरेश सिंह र विमलेन्द्र निधिलाई पराजित गरेका मनिष झा पनि सम्भावित मन्त्रीहरूको सूचीमा रहेका छन्।
https://aarthikvoice.com/archives/85551
मन्त्रिमण्डल विस्तारअघि बालेनले आफ्ना नजिकका सहयोगीहरूसँग समेत सुझाव लिइरहेको बताइएको छ।
मन्त्री छनोटमा सांसदहरूको दाबी र राजनीतिक सन्तुलनलाई प्राथमिकता दिइनेछ। स्रोतका अनुसार, नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया जारी छ र केही दिनभित्रै मन्त्रालय संख्या, नाम र जिम्मेवारी टुंग्याउने अपेक्षा गरिएको छ।


































