काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवारले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले विभिन्न १२ बुँदे प्रतिवद्धता जनाउँदै यस्तो बताए।
उनले विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुने भएकाले बीमाको दायरामा समाहित गरि बीमा पहुँचको खाडल कम गर्न ‘जलवायु परिवर्तनको छैन सीमा, सुनिश्चित गरौँ समावेशी बीमा’ भन्ने नारालाई व्यहारमा लागू गर्न आफू क्रियाशील रहने पनि प्रतिवद्धता जनाएका हुन् । यस्तै, उनले बीमा मध्यस्थकर्ता सर्भेयर, अभिकर्ता, पुर्नबीमा दलाल र तेस्रो पक्ष सहजकर्ता०हरुको कार्यसम्पादनलाई पारदर्शी गराउने समेत बताए ।
नवनिर्वाचित अध्यक्ष बैदवारले जारी गरेका १२ बुँदे प्रतिवद्धताः
१. निवर्तमान अध्यक्ष तथा पदाधिकारीहरुले शुरु गरि प्रकृयामा रहेका कार्यहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने ।
२. निर्जिवन बीमा क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भहरु मध्ये एक भएको हुदां यस क्षेत्रलाइ लाई व्यवस्थित, मर्यादित वनाउन समय सापेक्ष सुधारको लागि आवश्यक अध्ययन गरी राय सुझाव सहित नियामक निकायलाई अनुरोध गर्ने ।
३. बीमा कम्पनीहरुको सहमति अनुसार गठन भएका विभिन्न सामूहिक जोखिम कोष (Pool) संयन्त्रहरुको दीर्घकालिन समाधानको लागि पहल गर्ने ।
४. निर्जिवन बीमा क्षेत्रलाई अन्तरराष्ट्रिय स्तरको अद्यावधिक र परिष्कृत बनाउन संघले यो क्षेत्रमा योगदान पु(याउनु भएका अनुभवी तथा विशेषज्ञता हासिल गरेको व्यक्तिहरुको विषयगत प्राविधिक समुह (Faculty wise Technical Team) मार्फत अनुसन्धान तथा अनवेषण गरि सुझाव उपलब्ध गराउने कार्य प्रारम्भ गरीने ।
५. परिवर्तित आर्थिक वातावरण, जलवायु परिवर्तनको कारण सृजित जोखिमहरुको सम्वोधन र व्यवस्थापन गर्न मुलुकको भौगोलिकता अनुरूप Risk Model तर्जुमा गर्न स्वदेशि पुनर्बीमा कम्पनी र नियामक निकायसँग सहकार्य गर्ने ।
६. निर्जीवन बीमकहरुलाई आइपर्ने समस्याका सन्दर्भमा साथ दिँदै सो को समाधानका लागि तथा सरकार एवं नियामकद्वारा निर्माण हुने विभिन्न नीति जस्तै कर नीति, बीमा नीति, विभिन्न कार्यविधिहरु निर्माणको क्रममा वा निर्माण पश्चात पर्ने असरको वारेमा प्रतिनिधिमूलक संस्थाको रुपमा संघको तर्फबाट प्रतिनिधित्व गर्दै प्रभावकारी आवाज उठाउने ।
७. जलविद्युत तथा ठूला परियोजनाहरुको पुनर्बीमा गर्न स्वदेशि पुनर्वीमकलाई अनिवार्य गर्नको लागि आवश्यक निति तर्जुमा गर्न नियामक निकायसँग अनुरोध गर्ने ।
८. लघुवीमा कम्पनी निर्जिवन वीमाको आधार स्तम्भ भएको हुँदा, बीमा वारे सचेतना र पहुँच वृद्धि गर्नुका साथै, अनिवार्य वीमा वाहेक लघु बीमाको वीमा शुल्क भुक्तानी प्रकृयालाई सरलिकृत गर्ने ।
९. आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने स्वास्थ्य बीमालाई थप प्रभावकारी वनाउन स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको नियमन सहित एकीकृत स्वास्थ्य बीमा सेवा प्रणालीको बिकासका लागि आवश्यक कानुनी तथा नितिगत व्यवस्थाको लागि नियामक निकायसँग अनुरोध सहित सहकार्य गर्ने ।
१०. “प्रत्येक घरवास सुरक्षाको आभाष” भन्ने नाराका साथ आवासिय तथा व्यावसायिक भवनको बीमा गर्ने वातावरण वनाउन नितिगत सुधार एवम् व्यवस्था गर्न स्थानिय सरकारलाई अनुरोध तथा सहकार्य गर्ने ।
११. विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपवाट सबैभन्दा वढि प्रभावित हुने भएकोले बीमाको दायरामा समाहित गरि बीमा पहुँचको खाडल कम गर्न “जलवायु परिर्वतनको छैन सिमा, सुनिश्चित गरौ समावेशी वीमा” भन्ने नारालाई व्यवहारमा लागू गर्न क्रियाशिल रहने ।
१२. बीमा मध्यस्थकर्ता – (सर्भेयर, अभिकर्ता, पुनर्वीमा दलाल, तेश्रोपक्ष सहजकर्ता) हरुको कार्य सम्पादनलाई पारदर्शी गर्ने गराउने ।


































