काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले पाउँने सेवा सुविधामा हेरफेर गरेको छ । त्यसको साथै कर्मचारीहरुको तलब भत्ता तथा अन्य सुविधा निर्धारणमा पनि केही कडाईको कदम चालेको हो।
हाल बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० जारी भएसँगै सीईओ लगायत अन्य कर्मचारीहरुले पाउँने तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । हाल बीमा कम्पनीको कार्य सञ्चालन, कारोबार, व्यवसायिक योजना, नेटवर्थ, दाबी भुक्तानीको अवस्था, मुनाफाको स्थिति, व्यवस्थापन खर्च तथा नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधा, मुद्रास्फिति दर लगायत अन्य परिसूचकाङ्कको आधारमा सीईओसँगै कर्मचारीको तलब तोक्नु पर्ने भएको छ ।
हाल सीईओका लागि बीमा प्राधिकराणबाट जारी भएको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनलाई अनिवार्य आधार बनाउँनु पर्ने भएको हो। बीमा कम्पनीका सीईओहरुले १ करोड ३० लाख हाराहारीसम्म तलब भत्ता खाने गर्दछन् । तलब भत्तासँगै बीमा कम्पनीका सीईओहरुलाई बीमाशुल्क सुविधा र अन्य सुविधासमेत आफ्नो कार्यकालसम्म प्राप्त हुन्छ ।
प्राधिकरणले जारी गरेको बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन, २०७४ बमोजिम बीमा कम्पनीले कार्यकारी प्रमुखलाई दफा ४ को उपदफा २ को सीमाभित्र रही विभिन्न बीमाको बीमाशुल्क प्रदान गरिने उल्लेख गरिएको छ ।
अब बीमकले डाईरेक्टिभ्सको दफा ४ को उपदफा २ मा उल्लेखगरे जस्तै विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशतसम्म र ३ आर्थिक वर्षको अन्तको औसत कुल सम्पत्तिको क्रमशः ०१ प्रतिशत र ०५ प्रतिशतसम्मको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउँछ, त्यही अनुसार निश्चित वार्षिक तलब, भत्ताअनुसारकै बीमाशुल्क उपलब्ध गराउँनु पर्ने भएको छ।
साथै, कार्यकारी प्रमुखलाई अन्य र व्यावसायिक सदस्यता तथा पत्रपत्रिकाका लागि दफा ४ को उपदफा २ बमोजिम हुन आउने वार्षिक तलब–भत्ताको १ प्रतिशतसम्म खर्च सुविधासँगै वैदेशिक यात्राका लागि ट्राभल तथा मेडिक्लेम इन्स्योरेन्सको सुविधा उपलब्ध हुने प्रावधान ल्याइएको छ ।


































