काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ।
अघिल्लो वर्ष १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले हालै सम्पन्न आर्थिक वर्षको अन्त्यसम्ममा २२ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जस अनुसार कम्पनीको नाफा १६.५८ प्रतिशतले वृद्धि भएको हो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशतले बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ। कुल नाफा २३.९२ प्रतिशतले बढ्दा अन्य आम्दानी भने ६.७४ प्रतिशतले घटेको छ। सञ्चालन मुनाफा पनि २४.३४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
नाफाको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। गत वर्षको तुलनामा ९४ पैसा वृद्धि भई हाल प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४४.३९ कायम छ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३ अर्ब ६८ करोड २४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

































