काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदर्शनरत कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ।
रवि लामिछाने माथि राजनीतिक प्रतिसोध भएको भन्दै प्रदर्शन गरिरहेको रास्वपा र रवि लामिछानेका समर्थक माथि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शन नियन्त्रण गर्न टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुई पक्षबिच भिडन्त भएको हो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले लाठीचार्जसमेत गरेको छ ।
प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति रवि लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन भएको हो । आजसम्म भएका विरोधका कार्यक्रमहरू सामान्यतया शान्त देखिएको भएपनी चितवनमा भने माहौल नियन्त्रण भन्दा बाहिरिएको हो ।


































