काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रमुख बालेन्द्र शाह (बालेन) बिहीबार बिहान हेलिकोप्टर चार्टर उडानमार्फत झापा प्रस्थान गरेका छन्।
काठमाडौंमा आफ्नो मतदान प्रक्रिया सम्पन्न गरेपछि उनी हेलि एभरेष्टको हेलिकोप्टरमार्फत झापा गएका हुन्। निर्वाचनका कारण नियमित हवाई उडान तालिकामा परिवर्तन भई आज काठमाडौंबाट झापाका लागि कुनै पनि नियमित उडान उपलब्ध नभएको बताइएको छ। सोही कारण समय व्यवस्थापन र चुनावी गतिविधिलाई निरन्तरता दिन चार्टर उडानमार्फत यात्रा गरिएको स्रोतले जनाएको छ।
निर्वाचनको अन्तिम चरणमा मतदातासँग भेटघाट, समन्वय र आवश्यक व्यवस्थापनका लागि उनी झापा पुगेका बताइएको छ। चुनावी सन्दर्भमा उम्मेदवारहरूको आवतजावत तीव्र भइरहेका बेला बालेनको हेलिकोप्टरमार्फत यात्रा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
उक्त हेलिकोप्टर कम्पनी हेलि एभरेष्टका अर्का लगानीकर्ता मिङमा शेर्पा पनि संखुवासभाबाट रास्वपाकै तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका छन्। यसले पनि चुनावी सन्दर्भमा थप चर्चा पाएको छ। निर्वाचनको संवेदनशील समय भएकाले उम्मेदवारहरूको आवतजावत, सुरक्षा व्यवस्था तथा गतिविधिलाई सम्बन्धित निकायले निगरानीमा राखेको जनाइएको छ।


































