काठमाडौं । अमेरिकाले मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकलाई सुरक्षा अवस्था अत्यन्तै संवेदनशील बनेको भन्दै सकेसम्म छिटो ती देशहरू छोड्न आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमणको जोखिम बढेकाले त्यहाँ बसोबास गरिरहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र तत्काल स्वदेश फर्किन सुझाव दिएको हो।
बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन लगायतका देशमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले आफ्नो देश फर्कन आग्रह गरेको हो।
क्षेत्रीय तनाव चुलिँदै गएका बेला यो आग्रह सार्वजनिक गरिएको हो।
घटनाक्रमबीच इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु समेत भयो। त्यसपछि इरानले इजरायल तथा अमेरिकी सैन्य उपस्थिति रहेका खाडी क्षेत्रका मुलुकहरूमा प्रतिआक्रमण जारी राखेको जनाइएको छ।
यसै क्रममा साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा मानवरहित विमानमार्फत आक्रमण भएको विवरण सार्वजनिक भएको छ।
साउदीको रक्षा मन्त्रालयले दूतावास भवनलाई लक्षित गरी दुई वटा मानवरहित विमान प्रयोग गरिएको पुष्टि गरेको छ।


































