काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आज बिहान धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीले साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । लक्ष्मी सनराइज क्यापिटलका अनुसार यस आईपीओमा कुल २२ लाख ५ हजार ८७१ आवेदकले २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।
तीमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन सदर भएका छन् भने ८ हजार २८९ आवेदन बदर भएका छन् । सदर आवेदकबाट मात्र २ करोड ४४ लाख १२ हजार १७० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो।
बाँडफाँडका क्रममा १ लाख २४ हजार ८९० जना आवेदकले १०–१० कित्ताका दरले १२ लाख ४८ हजार ९ सय कित्ता शेयर प्राप्त गरेका छन् । बाँकी ४ कित्ता शेयर ४ जनालाई १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
आईपीओको नतिजा मेरोशेयर पोर्टल तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता शेयर जारी गरेको थियो ।
यस मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई गत असार २२ गतेदेखि साउन ४ गतेसम्म छुट्याइएको थियो ।


































