काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेड रुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन् ।
मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताएका छन्।
देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झूटा आरोप लगाउन थालिएको बताएका छन्।
"झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन।
एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्य लिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे । उनले आफूहरू सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुने ठोकुवा गरे ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गरेका छन्।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणात्मक चेत राख्न सुझाव दिएका छन्। “पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन’’, उनले भने।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनअघि एक कार्यक्रममा बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म रहेको बताएका थिए ।
https://aarthikvoice.com/archives/60992

































