काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको यही फागुन ११ गते आइतबारका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। यता, कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने उल्लेख गरेको छ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा समावेश गरिएको छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

































