काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ।
भोली शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा लामिछानेलाई भने दिउँसो २ बजेको लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि शुक्रबार नै बोलाइएको छ ।
जोशीलाई भने बिहान ११ बजेको लागी बोलाईएको छ ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।
यस अगाडि सहकारीको बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो। लामिछानेको नाम र पद उल्लेख नगरी उनी पहिले प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कको नाम राखेर संसदीय छानबिन समिति गठन भएको छ ।


































