काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई महत्वपूर्ण विधेयकहरू पारित गरेको छ। आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ अनुमोदन गरेको हो।
प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यी विधेयक पारित गर्न प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई सभाले स्वीकृति दिएको हो।
विधेयकमाथि यसअघि दफावार छलफल भएको थियो।
त्यसैगरी, राष्ट्रियसभामा महिला समन्वय समिति गठन गर्ने प्रस्ताव पनि पारित भएको छ। सभाध्यक्ष नारायणप्रसाद दाहालले सबै दलको सहभागितामा समिति गठन गरिएको जानकारी दिनुभयो। समितिमा दुर्गा गुरुङ, पुजा चौधरी, मिना सिंह रखाल, राजेन्द्र लक्ष्मी गैरे, रेणु चन्द, विष्णुकुमारी सापकोटा र सम्झना देवकोटा सदस्य रहनुभएको छ।
बैठकमा सांसदहरूले तराई क्षेत्रमा बढ्दो खानेपानी संकट, कर्णाली प्रदेशमा कमजोर विद्युत् आपूर्ति तथा अन्य समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले मधेशमा भूमिगत पानीको स्तर घट्दै गएको र गहिरो खन्नुपर्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे।
यस्तै, रोजगारी सिर्जना, उद्योग सञ्चालन, सुकुम्बासी समस्या समाधान तथा मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा पनि सरकार गम्भीर हुनुपर्ने माग गरिएको थियो।


































