काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रूपमा शून्य समय राख्ने निर्णय गरेको छ ।
यसअघि राष्ट्रियसभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्य व्यवस्था परामर्श समितिले निर्णय गरेको जनाएका छन् ।
आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले दलित समुदायमाथिको विभेद नहटेको, बर्खा याममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय लगायतका विषय उठाएका थिए ।
सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्ध भत्तालाई उनीहरूको घरघरमा पु¥याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राखिन्। त्यस्तै सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरू असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
अर्का सांसद विष्णुकुमारी सापकोटाले बाढी र पहिरोका कारण ज्यान गुमाउनेहरूका परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको स्वास्थ्य उपचार र विस्थापितलाई पुनः स्थापना गरिनुपर्ने बताइन् ।































