काठमाडौं। माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज दिउँसो सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजना गरिएको समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्।
माघ ११ को निर्वाचनमा १८ नयाँ सांसद चुनिएका थिए। राष्ट्रिय सभामा ५९ सदस्य छन् र प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यहरूको निर्वाचन हुन्छ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त तालमेल गरेका थिए। सोही तालमेलअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भए।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा विजयी भएका छन्। बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारीले निर्वाचित सदस्यका रूपमा शपथ ग्रहण गरेका छन्।


































