काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । महासंघभित्र बढ्दो राजनीतिक दबाब र हस्तक्षेपका कारण जिम्मेवारी निर्वाह गर्न कठिन भएको उल्लेख गर्दै उनले पद त्यागेकी हुन् ।
उनी विगत करिब छ महिनादेखि स्वास्थ्य उपचार तथा पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका बसिरहेकी छिन् । सोही क्रममा उनले विदेशमै रहँदा आफ्नो राजीनामा महासंघमा पठाएकी हुन् ।
राजीनामा पत्रमा उनले स्वास्थ्य अवस्था बिग्रिनुका साथै संस्थाभित्र देखिएको तीव्र राजनीतिक हस्तक्षेप र आन्तरिक घेराबन्दीलाई पद त्याग्नुको मुख्य कारण बताएकी छिन् । अध्यक्षको जिम्मेवारी सम्हालेदेखि नै आफूले अपेक्षित सहयोग नपाएको पनि उनले उल्लेख गरेकी छन् ।
उनका अनुसार सञ्चालक समिति चयन राजनीतिक आधारमा भए पनि महासंघका बैठकअघि पार्टीको विभागीय नेतृत्वसँग अनिवार्य परामर्श लिनुपर्ने र निर्णयहरू पनि पार्टीको हितअनुसार गर्नुपर्ने दबाब आउने गरेको थियो । त्यस्ता परिस्थितिका कारण आफूले योजना अनुसार स्वतन्त्र रूपमा काम गर्न नसकेको उनको भनाइ छ ।
महासंघको प्रशासनिक कामकाज, विशेषगरी महाप्रबन्धक नियुक्ति लगायतका महत्त्वपूर्ण विषयमा पनि अध्यक्षलाई स्वतन्त्र रूपमा निर्णय गर्न नदिइएको उनले गुनासो गरेकी छन् । पार्टीको सहकारी विभागबाट निरन्तर हस्तक्षेप हुँदा मानसिक रूपमा निकै तनावमा परेको पनि उनले जनाएकी छन् ।
मल्लले सबै राजनीतिक धारणा भएका सहकारीकर्मीहरूलाई समेटेर संस्थालाई अघि बढाउने प्रयास गरेको उल्लेख गर्दै एउटै राजनीतिक समूहका सदस्यहरू रहेको बोर्डभित्र पनि पर्याप्त सहयोग नपाएको बताएकी छन् । आफ्नै सहकर्मीबाट हुने अपमान र हस्तक्षेपका कारण मानसिक रूपमा कमजोर महसुस गर्न थालेको कुरा पनि उनले पत्रमा उल्लेख गरेकी छन् ।
उनका अनुसार सहकारीको मूल सिद्धान्त र मूल्यभन्दा बाहिर गएर हरेक निर्णयमा पार्टीको विभागीय नेतृत्वसँग परामर्श लिनुपर्ने अवस्थाले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बन्न सकेन ।
हाल महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् ।
मल्लले केही पदाधिकारीहरूबाट आफूलाई पद छाड्न दबाब आएको आरोप पनि लगाएकी छन् । ती परिस्थितिका कारण अन्ततः राजीनामा दिने निष्कर्षमा पुगेको उनको भनाइ छ ।
सहकारी क्षेत्रमा लामो समय काम गर्दा खासै तनाव नहुने गरेको भए पनि अध्यक्ष बनेपछि भने विभिन्न दबाब र हस्तक्षेप बढ्दै गएको उनले उल्लेख गरेकी छन् । निरन्तर दबाब झेलेर नेतृत्वमा बसिरहनु उचित नठानेर आफूले महासंघको औपचारिक जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उनले राजीनामा पत्रमार्फत जनाएकी छन् ।

































