काठमाडौँ। पछिल्लो केही समययता केही व्यक्ति वा संस्थाहरू बैंकिङ क्षेत्रमा समस्या देखिएको भन्दै प्रचारबाजी गर्न थालेसँगै सेवाग्राहीमा पर्न गएको भ्रमलाई राष्ट्रबैंकले ध्यानाकर्षण गरेको छ ।
नेपाल राष्ट्र बैंकले ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ । बैंकले आज (मङ्गलवार) विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहले भ्रामक अभिव्यक्ति दिँदै दुष्प्रचार गरिरहेको भन्दै त्यसमा केन्द्रीय बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको जनाएको छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ,’ राष्ट्र बैंकले भनेको छ ।
‘बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’उक्त विज्ञप्तीमा बैंकले उल्लेख गरेको छ ।
‘केन्द्रीय बैंकले देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र सर्वसाधारणको डिपोजिट सुरक्षित रहेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको केन्द्रीय बैंकले जनाएको छ ।
पछिल्लो समयमा इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको राष्ट्र बैंकले जनाएको छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ,’ केन्द्रीय बैंकले भनेको छ,।


































