काठमाडौं। राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
https://aarthikvoice.com/archives/87516
अर्को रिक्त रहेको डेपुटी गभर्नर पदमा भने हालसम्म कुनै नियुक्ति गरिएको छैन।
नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा पण्डित नियुक्त भएका हुन् ।
को हुन् डेपुटी गभर्नर पदमा नियुक्त किरण पण्डित ?
नेपाल राष्ट्र बैंकमा दुई दशकअघि प्रवेश गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा जस्ता विभिन्न महत्त्वपूर्ण विभागमा कार्य गरेका छन्।
२०८१ फागुन २० मा उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए र सोही पदमा भुक्तानी प्रणाली विभागको नेतृत्व पनि गरे। पछिल्लो समय, गत कात्तिकमा पण्डित विनिमय व्यवस्थापन विभागमा सरुवा भएका थिए।
कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दा, उनले २१ जेठदेखि केही समयको लागि राष्ट्रबैंकको प्रवक्ताको भूमिकामा पनि काम गरेका थिए।
https://www.youtube.com/watch?v=DBuz-wojZR8&t=1s
उनको योगदानको कदर गर्दै, राष्ट्रबैंकको ६९औं वार्षिकोत्सवको अवसरमा उनलाई सर्वोत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गरिएको थियो। यस समयमा, उनी राष्ट्रबैंकमा कार्यरत १,१४७ कर्मचारीमध्ये सर्वश्रेष्ठ बनेका थिए।
शैक्षिक पृष्ठभूमि अनुसार, पण्डितले पब्लिक युथ क्याम्पसबाट बीबीएस पूरा गर्दा आफ्नो ब्याचमा उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसपछि त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनले विभिन्न अध्ययन र तालिमहरू पूरा गरेका छन्। अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीबाट जलवायु वित्तमा एक वर्षे व्यावसायिक तालिम, अमेरिकाको ड्युक युनिभर्सिटीबाट विकेन्द्रित वित्तमा तालिम, र स्विट्जरल्यान्डको जेनेभा युनिभर्सिटीबाट मानवतावादी सञ्चारमा सर्टिफिकेसन सम्पन्न गरेका छन्।

































