काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन्।
शपथ ग्रहणपछि रावलले आजै डेपुटी गभर्नरका रूपमा पदबहालीसमेत गरेका छन्।
शपथ समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए। त्यसपछि २०६८ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।
कार्यकारी निर्देशकमा पदोन्नति भएपछि रावलले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए। लामो समय राष्ट्र बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका रावल अब डेपुटी गभर्नरका रूपमा मौद्रिक तथा वित्तीय क्षेत्रको उच्च जिम्मेवारीमा पुगेका छन्।
































