काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा सञ्चित ९ अर्ब ३५ करोड रुपैयाँ एक वर्ष अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले उक्त रकम इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा प्रतिस्पर्धात्मक आधारमा राख्ने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकले कुल रकममध्ये ७ अर्ब ४८ करोड रुपैयाँ वाणिज्य बैंकहरूका लागि, १ अर्ब ४० करोड २५ लाख रुपैयाँ विकास बैंकहरूका लागि र ४६ करोड ७५ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि छुट्याएको छ।
निक्षेपमा सहभागी हुन चाहने संस्थाका लागि कडा योग्यता मापदण्ड तोकिएको छ। कुल कर्जा लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) नभएको हुनुपर्नेछ। साथै, सम्बन्धित संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजीकोष अनुपात तथा खुद तरल सम्पत्ति अनुपात कायम गरेको, कर्जा निक्षेप अनुपात नियामक सीमाभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्ने शर्त राखिएको छ।
त्यसैगरी, सुधारात्मक कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको वा फुकुवा भएको ६ महिना नाघेको तथा सर्वसाधारणका लागि शेयर निष्कासन गरिसकेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषजस्तो संवेदनशील कोषको रकम सुरक्षित र विश्वसनीय संस्थामा मात्र लगानी गर्ने नीति अनुरूप यी मापदण्ड निर्धारण गरेको जनाएको छ। प्रतिस्पर्धात्मक दरमा आवेदन दिएका र तोकिएका सबै शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेपमा सहभागिता जनाउन सक्नेछन्।





































