काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेसँगै उनलाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाइएको हो।
(आज) सोमबार जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई केही बेर अघि जिल्ला कारागार पठाइएको रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले बताएका छन् । सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रवार लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।
जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए। उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको रुपन्देही प्रहरीले जनाएको छ।


































