काठमाडौं : चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढ्दै साढे १२ खर्ब रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार माघ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले मात्र बढेको थियो।
माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो।
अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ५.५ प्रतिशतले वृद्धि भएको थियो।
त्यसैगरी, माघ मसान्तसम्मको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) बढेर १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो।


































