काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज नेप्से ३.९४ विन्दुले घटेर २०८४.०९ अंकमा आएर अडिएको छ । आज नेप्सेमा सूचीकृत भएका ३०४ कम्पनीको ३ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।
आज बिहिबारका दिन एउटा कम्पनी सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । १३ मध्ये ५ समूहको सूचक बढेको छ । बिहीबारसमेत गरी बजार लगातार ७ कारोबार दिन घटेको छ । यसअवधिमा सूचक ९१.०५ अंकले घटिसकेको छ । दैनिक कारोबार रकम पनि खुम्चिन पुुगेको छ ।
यद्यपि, बिहीबार नेप्से झिनो अंकले घटेको छ । यसआधारमा अब बजारले विस्तारै करेक्सन चक्र पूरा गर्न लागेको संकेत देखिएको केही विश्लेषकहरुको भनाई छ । यस्तो अवस्थामा सूचक घट्नु भनेको नियमित करेक्सन नै रहेको अनुमान गरिएको छ ।
यसर्थ, बजारको स्वभाविक करेक्सन पूरा भएपछि पुनः सकारात्मक लयमा फर्किनेछ । केही दिनअघि झन्डै १० अर्ब नजिक पुगेको कारोबार रकम अहिले फेरि घटेर ३ अर्ब हाराहारीमा आइसकेको छ । यता, नेप्से सूचक पनि इन्ट्रा डे कारोबारमा २२ सय विन्दुमाथि सम्म पुगेको अवस्थाबाट सूचक पनि घटेर अहिले २ हजारको लाइनमा झरेको देखिन्छ । विशेषगरी, बैंक–वित्तीय संस्थाले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि सेयर बजार प्रभावित बनेको हो ।
प्रोफिट बुक गरेकाहरु ‘पर्ख र हेर’ को अवस्थामा रहँदा समग्र सेयर बजार सुस्त बनेको अनुमान गर्न सकिन्छ । बजार लगातार ७ कार्य दिन घट्दा सेयर भाउ सस्तो हुँदै गएको छ। मूल्य सस्तो हुँदै जाँदा विस्तारै क्रेताहरु आकर्षित हुँदै जाने विश्लेषकहरुको भनाइ छ । सामान्यतयः अकुमुलेसनको चरणमा बजार अलि सुस्त पनि हुने गर्छ ।
नेप्सेले अहिलेसम्म पनि २२ सय विन्दुको अवरोध पार गर्न सकिरहेको अवस्था छैन बजार बुल रनमा प्रवेश गर्नलाई २२ सयको अवरोधलाई पार गर्नैपर्ने हुन्छ । सम्भवतः बजारले यही विन्दु पार गर्नका लागि अहिले शक्ति सञ्चय गरिरहेको शेयर विश्लेषक छोटेलाल रौनियारको भनाई छ । उनी भन्छन् , घट्दोक्रममा रहेको ब्याजदर, बढ्दोक्रममा भएको तरलता र खुकुलो बन्दै गएको नीतिनियमले सेयर बजार माथितिर जानका लागि सहजीकरण गरिरहेको छ । हाललाई डराई हाल्नुपर्ने अवस्था हैन बरु धैयता कायम गर्दै सकरात्मक बजार निर्माण गर्न भूमिका खेल्ने हो ।
चक्रीय हिसाबले पनि अब बजारले बुल यात्रा नै तय गर्ने रौनियारको भनाई छ । यस दिन ३०४ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज सूचीकृत ९१ कम्पनीको शेयर मूल्य बढोत्तरी रहेको छ भने १४१ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ।
https://aarthikvoice.com/archives/24152





































