काठमाडौं । नेपालमा साउनदेखि पुससम्मको अवधिमा विभिन्न देशबाट आठ खर्ब २२ अर्ब ३७ करोड बराबरको मालवस्तु आयात भएको छ । यो आयात गत वर्षको पहिलो ६ महिनाको तुलनामा ७.०७ प्रतिशतले बढी हो । गत वर्षको पहिलो ६ महिनामा सात खर्ब ६८ अर्ब १७ करोडको मालवस्तु आयात गरिएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार पुस महिनामा मात्रै एक खर्ब ६० अर्बभन्दा बढीको आयात भएको छ । आयात बढ्नुले बजारमा माग बढ्न गएको जानकारहरूको भनाई छ । ६ महिनामा सबैभन्दा धेरै डिजेल र पेट्रोल आयात भएको छ ।
यो अवधिमा ५४ अर्ब ३७ करोडको डिजेल र ३२ अर्ब १५ करोडको पेट्रोल आयात भएको छ । ६ महिनाको अवधिमा विभिन्न देशबाट २९ अर्ब ८० करोडको एलपी ग्यास, २५ अर्ब ७२ करोडको शुद्ध फलाम, २४ अर्ब ३७ करोडको भटमासको कच्चा तेल, २२ अर्ब १० करोडको तयारी कपडा भएको विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, समीक्षा अवधिसम्म १७ अर्ब ८५ करोडको मोबाइल तथा टेलिफोन, १५ अर्ब ४३ करोडको एलोप्याथिक औषधि, २२ करोडको पोलिथिन दाना, १३ अर्ब ११ करोडको विद्युतीय कार, जिप र भ्यान, १० अर्ब ४२ करोडको धान, नौ अर्ब ८९ करोडको कोइला, नौ अर्बको औद्योगिक मेसिनरी, आठ अर्ब ६७ करोडको चामल, आठ अर्ब ३६ करोडको अनएसेम्बल्ड मोटरसाइकल तथा स्कुटर, आठ अर्ब २८ करोडको सुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले पुससम्म एक सय ५७ देशसँग व्यापार गरेको छ । जसमध्ये एक सय २४ देशसँगको व्यापार घाटामा छ भने ३३ देशसँग मात्रै न्यून व्यापार नाफामा छ । नेपालको सबैभन्दा धेरै भारतसँग चार खर्ब २९ अर्ब, चीनसँग एक खर्ब ५६ अर्ब, अर्जेन्टिनासँग २२ अर्ब मलेसियासँग सात अर्ब ३० करोड घाटामा रहेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


































