काठमाडौं । प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै विपक्षीले सदन अवरुद्ध गरेपछि बैठक रोकिएको हो।
सभामुख डोलप्रसाद अर्यालका अनुसार बैठक १५ मिनेटपछि पुनः सञ्चालन हुनेगरी स्थगित गरिएको हो।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।
विपक्षी दलहरूले प्रधानमन्त्री नियमित रूपमा सदनमा अनुपस्थित रहेको भन्दै प्रश्न उठाएका थिए। उनीहरूले संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग हुने मासिक प्रश्नोत्तर कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाए।
नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था भए पनि सो अभ्यास नियमित नभएको विपक्षीको भनाइ छ।
यस विषयमा सदनमा सत्तापक्ष र विपक्षबीच भनाभन बढेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

































