काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न र नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा पौष ४ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।


































