काठमाडौं। कार्यलयमा जानकारी बिना नै सम्पर्क विहीन बनेका १६ प्रहरी सहायक हवलदार र जवानविरुद्ध प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरी नियमावली, २०७१ मा अनुमतिबिना ९० दिनभन्दा बढी गैरहाजिर रहने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआएको खण्डमा पदबाट हटाउन सकिने व्यवस्था छ । प्रधान कार्यालयले यसअघि गैरहाजिर रहेकाहरुलाई सूचना टाँस गरेर सम्पर्कमा आउन निर्देशन दिएकोमा त्यसको अटेरी गरेपछि सातदिने स्पष्टीकरण सोधिएको हो।
बिना जानकारी सम्पर्कविहीन हुनेहरूमा दुई प्रहरी सहायक हवलदार, १२ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगी छन् ।
यसरि स्पष्टीकरण सोधिएकाहरूमा प्रहरी सहायक हवल्दार कृष्ण कार्की, यमप्रकाश केसी, प्रहर जवानहरू वेशबहादुर राई, प्रेम पौडेल, सुजन लिम्बू, कुलजङ्ग बस्नेत, सुमन तामाङ, निकेश थापा र अर्जुनकुमार दास छन् ।
त्यसैगरी, प्रहरी जवान बीना तामाङ, ताराबहादुर श्रेष्ठ, सुजन कुँवर, सुरज थापा क्षेत्री, सन्दीप परियार, प्रहरी कार्यालय सहयोगी विवेक लिम्बू र सुनिल पुजारीलाई पनि गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित उपस्थित हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
निर्धारित समयमा चित्तबुझ्दो कारणसहित स्पष्टीकरण पेश नगरे उनीहरू सबैलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ । प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) मा कुनै पनि प्रहरी कर्मचारी बिना जानकारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने प्रावधान छ ।


































