काठमाडौँ। सूर्यदर्शन सहकारी ठगी मुद्दा प्रकरणमा पक्राउ परेकाहरू माथि चलिरहेको बहस उत्तरार्ध पुगेको छ ।
आज बुधवार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलको जवाफी बयान सकिएको अदालतले जनाएको छ ।
अदालतका एक कर्मचारीका अनुसार आज आरती गुरुङ, पूर्व सांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङका वकिलले बहस गरेका थिए । जाहेरवाला तर्फका वकिल रमन कर्ण, राम घिमिरे र वेदबहादुर विष्टेले समेत बहस गरेका थिए ।
अब भोलि सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन्। सरकारी वकिलको बहस समयमै सकिएको खण्डमा भोलि नै आदेश आउने सम्भावना बढेको अदालत श्रोतको भनाई छ ।
बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ। रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्।
उक्त सहकारी ठगी प्रकरणमा रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।

































