काठमाडौं । एकपछि अर्को बैंकको मुनाफा घटिरहेको समयमा साइन रेसुंगा डेभलपमेन्ट बैंकले भने ६ करोड ७४ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा धनात्मक देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ११ करोड २८ लाख रहेको वितरणयोग्य मुनाफा घटे पनि धेरै बैंकहरुको ऋणात्मक हुँदा साइनको भने धनात्मक देखिएको हो ।
बैंकको खूद मुनाफा घटेको छ।
बैंकको अघिल्लो वर्षको तुलनामा व्यवसायमा सामान्य संकुचन आउँदा खूद ब्याज आम्दानी पनि थोरै घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५ करोड बढी रहेको यस्तो आम्दानी घटेर यो वर्ष १ अर्ब ४ करोड देखिएको हो ।
बैंकको अघिल्लो वर्षको यही अवधिसम्म १.३१ प्रतिशतमा सीमित खराब कर्जा बढेर यो वर्ष २.६२ प्रतिशत बढेको छ । यही कारण बैंकले इम्पेयरमेन्ट चार्जको रुपमा १४ करोड ५२ लाख बढी छुट्याएको छ ।
नाफा घटेका कारण अघिल्लो वर्ष २०.०६ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी १५.६८ रुपैयाँमा सीमित बन्न पुगेको छ भने रिटर्न अन इक्वीटी पनि १३.९१ प्रतिशतबाट घटेर ११.१४ प्रतिशतमा सीमित भएको छ।
दोश्रो त्रैमाससम्मको बैंकको मूल्य आम्दानी अनुपात २५.३८ गुणा, प्रतिसेयर नेटवर्थ १३८.६८ रुपैयाँ, तरलता अनुपात २२.९५ प्रतिशत र पूँजीकोष अनुपात १२.४९ प्रतिशत रहेको छ ।


































