काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउन ९ गते ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । यसअघि साउनको पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी केन्द्रीय बैंकले गरेपनि गभर्नर महाप्रसाद अधिकारीको विदेश भ्रमणका कारण दोस्रो हप्ता धकेलिएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतसँगै गभर्नर महाप्रसाद अधिकारीले भारतमा आयोजित जी–२० राष्ट्रहरुको सम्मेलनमा भाग लिएर बुधबार स्वदेश फिर्ता भइसकेका छन् ।
मौद्रिक नीति विनियोजित बजेटलाई नै सर्पोट गर्नेगरी आउँछ : गभर्नर अधिकारी
आर्थिक समस्याकाबीच आउने मौद्रिक नीति कस्तो आउँला भन्ने चिन्ता र चासोकाबीच गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको अर्थनीति, आर्थिक वृद्धिदर र वित्तीय सन्तुलनमा नै केन्द्रि भएर बजेट आउने प्रस्ट पारे ।
गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने प्रतिवद्धता जाहेर गरे ।
‘पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहेको छ । यसले बैंकिङ सिस्टममा पर्याप्त तरलता मौज्दात रहेको छ । यसका बाबजुद पनि केही मूल्यवृद्धि नियन्त्रण हुन नसकेको साँचो हो’ गभर्नर अधिकारीले भने, ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ । यी सबै समस्यालाई सम्बोधन गर्नेगरी बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरलाई समेत भेट्नेगरी मौद्रिक नीति आउँछ ढुक्क हुनुस्’ गभर्नर अधिकारीले भने ।


































