काठमाडौँ । भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । गत भदौ २२ र २३ गते भएको आन्दोलनका कारण सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो।
अर्थ मन्त्रालयले विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई कोषमा सहयोगका लागि आह्वान गरेको थियो।
कम्पनीले विगतमा पनि राष्ट्रले आवश्यक महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा विविध प्रकारको सहयोग गर्दै आएको र हालको यो योगदानले क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि निश्चित सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।सूर्यज्योति लाइफ इन्स्योरेन्सले यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उल्लेख गरेको छ।

































