काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान आज पनि जारी रहने भएको छ। बुधवार सार्वजनिक बिदा परेकाले आज बिहीबार पुनः बयान जारी रहने भएको छ।
कास्की जिल्ला अदालतमा गत शुक्रवार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो।
न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरूको बयान सुरु भएको हो।
आजसम्म गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ।
जोशीको बयान सकिएसँगै मंगलबार प्रतिवादी लीला पछाइको बयान सुरु भएको छ। उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीको भनाई छ ।
पछाई पछि कसको बयान हुन्छ भन्ने निश्चित नभएकाले रवि लामिछानेको बयान थप अन्योलमा धकेलिएको छ । प्रतिवादीहरूको बयान नसकिएकाले थुनछेक बहस सुरु हुन सकेको छैन। क्रमबद्ध रूपमा बयान प्रक्रिया चलिरहँदा रविको बयान लम्बिन जान सक्ने अनुमान गरिएको छ ।

































