काठमाडौँ। नयाँ सरकार गठनसँगै सेयर बजारमा सकारात्मक लहर आउने अपेक्षा गरिएको थियो। तर त्यसको ठीक विपरीत, साताको पहिलो कारोबार दिन आज बजारमा उल्लेख्य गिरावट देखियो।
आइतबार नेप्से परिसूचक ७१ अंकले ओरालो लाग्दै २८७९.११ बिन्दुमा झर्यो।बजारमा आएको यो गिरावट कुनै स्पष्ट आर्थिक वा संरचनागत कारणका कारण नभई अचानक देखिएको प्रवृत्ति जस्तो देखिएको छ।
नेकपा (एमाले)ले आफ्ना अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध थालेको आन्दोलनले बजारमा नकारात्मक मनोविज्ञान सिर्जना गरेको विश्लेषण विज्ञहरुको छ। राजनीतिक अस्थिरता पुनः चुलिने हो कि भन्ने डरले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। यही मनोवैज्ञानिक दबाबका कारण बजारमा बिक्री चाप बढ्दा नेप्से घट्न पुगेको देखिन्छ।
बजारका जानकारहरूले अहिलेको गिरावटलाई दीर्घकालीन संकटका रूपमा नलिन सुझाव दिएका छन्। उनीहरूका अनुसार, यो केवल अस्थायी प्रतिक्रिया मात्र हुन सक्छ र निकट भविष्यमा बजार पुनः सुधारतर्फ फर्किने सम्भावना रहेको छ।
यसैबीच आर्थिक भ्वाइसले अर्थविद् अनल राज भट्टराईसँग बजारको वर्तमान अवस्था, कारण र आगामी सम्भावनाबारे कुराकानी गरेको छ।
बजारमा राजनीतिक घटनाक्रमको प्रभाव
भट्टराईका अनुसार नयाँ सरकार गठनसँगै बजारमा उत्साहको कमी थिएन। विगत केही दिनदेखि नै बजारले सकारात्मक संकेत देखाइसकेको थियो।
उनले भने, “सरकार आएपछि बजार बढ्छ भन्ने अपेक्षाअनुसार पछिल्ला १०–१२ दिनमा बजारले त्यो संकेत देखाएको पनि थियो।”
तर आइतबारको गिरावटले भने त्यो उत्साहलाई एकाएक कमजोर बनाएको देखिन्छ।
भट्टराईले बजार घट्नुको मुख्य कारण आर्थिकभन्दा बढी राजनीतिक रहेको स्पष्ट पारे। विशेषगरी पछिल्ला राजनीतिक गतिविधि र आन्दोलनको सम्भावनाले लगानीकर्तामा मनोवैज्ञानिक त्रास पैदा गरेको उनको भनाइ छ।
उनका शब्दमा, “राजनीतिक रूपमा जे–जे गतिविधि भइरहेका छन्, त्यसले अनिश्चितता बढ्ने हो कि भन्ने डरले बजारले प्रतिक्रिया दिएको हो। तर यो प्रतिक्रिया केही बढी नै भयो। यति धेरै बजार घट्नुपर्ने अवस्था भने थिएन।”
‘क्षणिक’ गिरावटको रूपमा विश्लेषण
भट्टराईले अहिलेको बजार गिरावटलाई दीर्घकालीन नभई अस्थायी (क्षणिक) घटना मान्नुपर्ने बताए। उनका अनुसार, “यो अवस्थालाई क्षणिक रूपमा लिनुपर्छ। बिस्तारै अवस्था स्पष्ट हुँदै जाँदा बजारले फेरि आफ्नो लय समात्छ।”
उनले आन्दोलन र अस्थिरताको सम्भावनाले तत्कालका लागि नकारात्मक प्रभाव पारे पनि त्यो दीर्घकालीन नहुने विश्वास व्यक्त गरे।
सरकारको प्रतिबद्धता कार्यान्वयनमा बजारको दिशा निर्भर
नयाँ सरकारले सुधार, सुशासन र आर्थिक स्थायित्वका विषयमा सकारात्मक सन्देश दिएको भन्दै भट्टराईले त्यसले दीर्घकालमा बजारलाई सहयोग गर्ने बताए।
उनले भने, “सरकारले सुधार ल्याउने, व्यवसायमैत्री वातावरण बनाउने र आत्मविश्वास बढाउने कुरा गरिरहेको छ। यी सबै कुरा कार्यान्वयनमा गए भने बजारलाई सकारात्मक असर पर्छ।”
उनका अनुसार अहिले मुख्य कुरा नीतिगत घोषणा होइन, त्यसको कार्यान्वयन हो। भट्टराईले बजारको भविष्य सरकारको कार्यान्वयन क्षमतामा निर्भर रहने बताए।
उनले भने, “सरकार जति छिटो कार्यान्वयन चरणमा जान्छ, त्यति नै बजारले आफ्नो लय समात्दै जान्छ।”
उनका अनुसार कर नीति, मौद्रिक नीति र समग्र आर्थिक नीतिहरूले बजारलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने भएकाले लगानीकर्ताले ती पक्षलाई पनि नजिकबाट हेरिरहेका छन्।
बजारमा आपूर्ति बढी, माग कमजोर
भट्टराईले हालको बजार संरचनात्मक समस्यातर्फ पनि संकेत गरे। उनका अनुसार बजारमा सेयरको आपूर्ति धेरै भइसकेको छ, तर त्यसअनुसार माग सशक्त हुन सकेको छैन।
उनले उदाहरण दिँदै भने, “पहिले १५–२० अर्बको कारोबार हुँदा बजार १८०० बाट ३२०० पुग्थ्यो। अहिले त्यही स्तरको कारोबार हुँदा पनि बजारले स्पष्ट दिशा समाउन सकेको छैन।”
यसले बजारमा सन्तुलनको अभाव देखिएको उनको विश्लेषण छ।
बजारप्रति दीर्घकालीन आशा
उनले दीर्घकालीन रूपमा भने बजारप्रति आशावादी रहनुपर्ने बताए। उनका अनुसार, सुधारका प्रक्रिया अघि बढे, उत्पादन बढ्यो, सरकारी खर्च प्रभावकारी भयो भने त्यसको प्रतिफल सेयर बजारमा देखिनै हाल्छ।
उनी भन्छन्, “अहिले आत्मविश्वास घटेको अवस्था छ, तर सरकारका कदमले त्यो बढाउँदै लैजान सक्छ।”
समग्रमा भट्टराईको विश्लेषणले अहिलेको बजार गिरावटलाई ‘ओभररिएक्सन’ र ‘क्षणिक’ अवस्थाको रूपमा चित्रण गर्छ। राजनीतिक घटनाक्रमले छोटो समयका लागि बजारलाई प्रभावित पारे पनि आधारभूत आर्थिक संकेतहरू अझै स्थिर रहेको उनको बुझाइ छ। त्यसैले, लगानीकर्ताका लागि अहिलेको अवस्थामा आत्तिनुभन्दा धैर्यतापूर्वक बजारको दिशा हेर्नु उपयुक्त हुने उनको सुझाव छ।
































