काठमाडौं । हुम्लाका चार दुर्गम मतदान केन्द्रमा निर्वाचनका कर्मचारी तथा मतदान सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ। नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको लिमी क्षेत्रमा रहेका भृकुटी आधारभूत विद्यालय (जाङ) , सुनखानी आधारभूत विद्यालय (हल्जी) र हिमशिखर आधारभूत विद्यालय (तील) तथा सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय (चाला) मतदान केन्द्रमा खटिने जनशक्ति र आवश्यक सामग्री हवाइमार्गबाट पुर्याइने भएको हो ।
केन्द्रहरूमा हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध भएपछि हेलिकप्टर प्रयोग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारि दिए । ती चारवटै मतदान केन्द्रका लागि खटिएका २० जना कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन सुरक्षामा संलग्न अन्य सुरक्षाकर्मी गरी ८० जना सहित कुल १०२ जनशक्ति तथा मतपत्रलगायतका सामग्री आज र भोलि दुई दिनमा चरणबद्ध रूपमा ढुवानी गरिने भएको छ ।
निर्वाचन सामग्री र जनशक्ति सुरक्षित रूपमा पुर्याउन जिल्ला प्रशासनले गरेको अनुरोधलाई निर्वाचन आयोगले स्वीकृति दिएको छ। लिमी पुग्ने मुख्य नाका नारा र न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, चाला जाने घोडेटो बाटो पनि हिमपातका कारण प्रयोग गर्न नसकिने अवस्थामा पुगेपछि हेलिकप्टर नै एकमात्र विकल्प बनेको प्रशासनले जनाएको छ।
भौगोलिक दुर्गमता र मौसमजन्य जोखिमका कारण जिल्ला सुरक्षा समितिले ती मतदान केन्द्रलाई ‘अतिसंवेदनशील’ स्थलका रूपमा वर्गीकरण गरेको छ। लिमीस्थित सुनखानी मतदान केन्द्र (हल्जी) मा २९३, भृकुटी मतदान केन्द्र (जाङ) मा २४७, हिमशिखर मतदान केन्द्र ९तील० मा १३२ र हिमालय मतदान केन्द्र (चाला) मा १५९ मतदाता रहेका छन्।
हाल यीमध्ये धेरै मतदाता जिल्ला बाहिर तथा चीनको ताग्लाकोट क्षेत्रमा रहेका कारण उनीहरूलाई मतदानका लागि गाउँ फर्काउन सडक खुलाउने प्रयास समेत अघि बढाइएको प्रशासनले जनाएको छ। निर्वाचन प्रक्रियालाई अवरोधबिना सम्पन्न गर्न आवश्यक सबै वैकल्पिक व्यवस्थाहरू मिलाइएको प्रशासनको भनाइ छ।


































