काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३६ करोड ५० लाख रुपैयाँको तुलनामा १६१.१३ प्रतिशतले बढी हो।
नाफामा आएको यो वृद्धिको मुख्य कारण कम्पनीको बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धि हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशतले बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल नाफा ७७.२८ प्रतिशतले र सञ्चालन मुनाफा १६६.७८ गुणाले बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा १७ रुपैयाँ ३६ पैसाले बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ३९.८७ रहेको छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १ अर्ब १० करोड रुपैयाँ छ।

































