काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका बीमितहरूले अब बीमालेख धितोमा अधिकतम एक लाख रुपैयाँसम्मको कर्जा अनलाइनबाटै आवेदन गरी प्राप्त गर्न सक्ने भएका छन्। कम्पनीले बीमितलाई छिटो र सहज रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले खल्ती एपसँगको सहकार्यमा यस्तो डिजिटल सुविधा सुरु गरेको हो।
कम्पनीका अनुसार बीमालेख अन्तर्गत कर्जा लिन योग्य भएका बीमितहरूले अनलाइनमार्फत आवेदन गरेपछि आवश्यक प्रक्रिया पूरा गरी कर्जा उपलब्ध गराइनेछ। नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार बीमा गरेको कम्तीमा तीन वर्ष पूरा भएपछि बीमितहरूले बीमालेख धितोमा कर्जा लिन सक्ने व्यवस्था छ।
खल्ती एपमार्फत यो सुविधा उपलब्ध भएपछि बीमितहरूले कर्जा लिन कम्पनीको कार्यालयमा जानुपर्ने बाध्यता हटेको छ। अब जुनसुकै स्थानबाट मोबाइलमार्फत आवेदन गरी एक लाख रुपैयाँसम्मको बीमालेख कर्जा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
कर्जा आवेदनका लागि बीमितले खल्ती एपभित्र रहेको एचएलआई डिजिटल लोन विकल्पमा गई आफ्नो बीमालेख नम्बर दर्ता गर्नुपर्नेछ। त्यसपछि तोकिएको सीमाभित्र कर्जाको आवेदन दिनुपर्नेछ। आवेदनपछि प्राप्त हुने ओटिपी (OTP) कोड प्रविष्ट गरेपछि स्वीकृत कर्जा रकम बीमितको खल्ती वालेट वा खातामा उपलब्ध हुने व्यवस्था गरिएको छ।
तर, यो सुविधा प्रयोग गर्न बीमा गर्दा प्रयोग गरिएको केवाइसी विवरण र खल्ती एपमा प्रयोग भएको मोबाइल नम्बर एकै हुनुपर्ने कम्पनीले स्पष्ट पारेको छ। विवरण नमिलेको अवस्थामा कर्जा प्राप्त गर्न नसकिने बताइएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले बीमितलाई छिटो, सरल र डिजिटल माध्यमबाट सेवा प्रदान गर्ने लक्ष्यका साथ यो सुविधा सुरु गरिएको बताउँदै यसको अधिकतम उपयोग गर्न आग्रह गरेका छन्।


































