काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको निर्णय फिर्ता लिएको छ । विद्यार्थीहरुले आमरण अनशनसम्मको आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो ।
आज त्रिविका तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच ५ बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिएको छ ।
सहमति अनुसार विद्यार्थीका प्रतिनिधिसहित समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनको आधारमा अघि बढ्ने भन्नेछ । त्यस्तै उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गर्ने सहमति समेत भएको छ ।
संस्थान अन्तर्गतका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्ने सहमति भएको हो ।
शुल्क फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।
इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।


































