काठमाडौँ। आर्थिक वर्ष २०८०/०८१ को अवधिमा नेपालमा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्। आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा उक्त तथ्यांकबारे जानकारी गराइएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नेपालको हकमा गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ७ हजार २२३ जनाले आत्महत्या गरेको जानकारी दिएका हुन्।
एसडीजीको लक्ष्य ४.७ मा झार्ने भए पनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए।
उनका अनुसार आत्महत्याका धेरै कारणहरूमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको उनको भनाई छ । विश्वमा मृत्युका कारणहरूमध्ये आत्महत्या १५ औं कारण रहेको उनले बताए।


































